काठमाडौँ । उत्तरी युरोपका विभिन्न देशमा भीषण हिउँदे आँधी आएपछि स्विडेनमा दुई जनाको मृत्यु भएको छ भने यातायात सेवा अवरुद्ध हुनुका साथै व्यापक विद्युत् आपूर्ति ठप्प भएको छ। ‘स्टर्म जोहान्स’ नाम दिइएको आँधीका कारण स्विडेनको उत्तरी भागका ठूलो क्षेत्रहरूमा तीव्र हावाको चेतावनी जारी गरिएको स्विडिस मौसम तथा जल विज्ञान संस्थानले जनाएको छ।
स्थानीय सञ्चारमाध्यम र प्रहरीका अनुसार स्विडेनको दक्षिणी भागस्थित कुंग्सबर्गेट स्की रिसोर्टमा रूख ढलेर लाग्दा ५० वर्ष आसपासका एक पुरुषको मृत्यु भएको हो। यस्तै, क्षेत्रीय विद्युत् कम्पनी हेमाबले फिल्डमा काम गर्ने क्रममा भएको दुर्घटनामा आफ्ना एक कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ। आँधीका कारण स्विडेन, नर्वे र फिनल्यान्डका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। स्विडेनमा मात्र ४० हजारभन्दा बढी घर प्रभावित भएका छन् भने धेरै रेल सेवा रद्द गरिएको स्विडिस समाचार संस्था टीटीले जनाएको छ।
उत्तरी युरोपका विभिन्न भागमा उडान, रेल तथा फेरी सेवा स्थगित गरिएको छ। खराब मौसमका कारण सडक तथा रेल यातायात पनि प्रभावित भएको छ। नर्वेको सबैभन्दा उत्तरी क्षेत्रमध्ये एक नर्डल्यान्डमा आगलागी तथा उद्धार विभागले मौसमसम्बन्धी २ सय भन्दा बढी घटनामा प्रतिक्रिया जनाएको नर्वेली प्रसारक एनआरकेले जनाएको छ। उक्त क्षेत्रमा करिब २३ हजार घरमा विद्युत् काटिएको छ भने इनल्यान्ड क्षेत्रमा थप ९ हजार घर अन्धकारमा परेका छन् फिनल्यान्डमा ‘हानेस’ नामले चिनिने आँधी आइतबार बिहान शान्त भए पनि त्यसले ३३ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध गरेको सार्वजनिक प्रसारक वाईलेले जनाएको छ।
फिनल्यान्डको उत्तरी क्षेत्रस्थित किट्टिला विमानस्थलमा तीव्र हावाका कारण एक यात्रुवाहक विमान र सानो जेट विमान रनवेबाट चिप्लिएर हिउँको थुप्रोमा पुगेपछि उडानहरू स्थगित गरिएका छन्। हेलसिन्की टाइम्सका अनुसार जेनेभाबाट आएको स्विस एयरको विमान अवतरणपछि ट्याक्सी गर्ने क्रममा हावाले धकेल्दा दुर्घटनामा परेको हो। सोही समयमा जमिनमै रहेको ४ सय एक्सटी मोडलको सानो जेट पनि हावाले बगाएको जनाइएको छ। स्विडिस यातायात प्रशासनले आइतबार दिउँसोसम्मका लागि धेरै रेल सेवा स्थगित गरिएको जानकारी दिएको छ।