काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तीन तहमा सम्पन्न गर्ने नयाँ प्रस्ताव पेस गरेका छन्। उनका अनुसार महाधिवेशन वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, र केन्द्रीय स्तरमा हुनेछन्।
थापाले क्रियाशील सदस्यता विवाद वा विवादित स्थानमा सर्वाधिकार सम्पन्न प्रतिनिधिहरूलाई फिल्डमै टुंग्याउने व्यवस्था गर्न सुझाव दिएका छन्। उनको प्रस्ताव बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भए पनि अहिलेसम्म निर्णय भएको छैन। बैठक बिहीबार दिउँसो १ बजे पनि बस्नेछ। थापाले भने, “वडाको अधिवेशन, क्षेत्रको अधिवेशन गरेर केन्द्रको महाधिवेशन गरौं। सातवटा प्रदेशको निर्वाचन आम निर्वाचनपछि गर्न सकिन्छ।”