काठमाडौँ । रुसको राजधानी मस्कोमा भएको विस्फोटमा दुई ट्राफिक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ। रुसको अनुसन्धान समितिले उक्त जानकारी दिएको छ। अनुसन्धान समितिका अनुसार येलेट्स्काया सडकमा पार्क गरिएको प्रहरी गाडी नजिक एक ‘सन्दिग्ध व्यक्ति’ देखेपछि दुई ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा विस्फोटक पदार्थ पड्किएको थियो।
विस्फोटमा दुवै प्रहरी अधिकारी र नजिकै उभिएका एक अन्य व्यक्तिको मृत्यु भएको हो। विस्फोट भएको स्थान केही दिनअघि कार बम विस्फोटमा एक वरिष्ठ रुसी सैनिक जनरल मारिएको ठाउँ नजिकै रहेको बताइएको छ। सोमबार भएको उक्त घटनामा कारमुनि राखिएको विस्फोटक पदार्थ पड्किँदा लेफ्टिनेन्ट जनरल फानिल सरवारोभको मृत्यु भएको थियो। अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले ट्राफिक प्रहरीको ज्यान लिने प्रयाससम्बन्धी आपराधिक मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिएकी छन्।
रुसी सञ्चारमाध्यमका अनुसार मृत प्रहरी अधिकारीहरू २४ वर्षीय इल्या क्लिमानोभ र २५ वर्षीय म्याक्सिम गोर्बुनोभ हुन्। घटनास्थल नजिक बस्ने एक स्थानीय बासिन्दा अलेक्जान्डरले रोयटर्ससँग भने, “ठूलो आवाजसहित विस्फोट भयो, केही दिनअघि भएको कार विस्फोटजस्तै।” रुसले यसअघि भएको विस्फोटमा युक्रेनको संलग्नता हुनसक्ने आशंका व्यक्त गरे पनि युक्रेनले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। दुवै विस्फोट आपसमा सम्बन्धित हुन् वा होइनन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। ५६ वर्षीय सरवारोभ रुसी सशस्त्र सेनाको अपरेशनल तालिम विभागका प्रमुख थिए। उनी पछिल्लो एक वर्षमा मस्कोमा बम आक्रमणमा मारिने तेस्रो उच्च सैन्य अधिकारी हुन्।