काठमार्डाैँ । रुसका अधिकारीहरूका अनुसार मस्कोमा कार बम विस्फोट हुँदा रुसका एक जना जनरलको मृत्यु भएको छ। रुसको अनुसन्धान समितिले सोमबार बिहान कारमुनि राखिएको विस्फोटक पदार्थ पड्किँदा लेफ्टिनेन्ट जनरल फानिल सरवारोभको मृत्यु भएको जनाएको छ।
५६ वर्षीय सरवारोभ सशस्त्र सेनाको अपरेशनल तालिम विभागका प्रमुख थिए। अनुसन्धान समितिले बम युक्रेनी गुप्तचर सेवाको संलग्नतामा राखिएको हुन सक्ने एउटा सम्भावनाको अनुसन्धान भइरहेको बताएको छ। युक्रेनले यसबारे कुनै टिप्पणी गरेको छैन। समितिका अनुसार घाइते अवस्थामा अस्पताल पुर्याइएका सरवारोभको उपचारका क्रममा मृत्यु भएको हो। घटनासम्बन्धी हत्या र विस्फोटक पदार्थको अवैध ओसारपसार विषयमा अनुसन्धान सुरु गरिएको छ। मस्कोको दक्षिणी भागमा रहेको एक अपार्टमेन्ट भवन नजिकको पार्किङ क्षेत्रमा अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्। घटनास्थलका तस्बिरहरूमा सेतो रङको कार गम्भीर रूपमा क्षतिग्रस्त देखिन्छ, जसका ढोकाहरू उडाइएका छन् र वरिपरि अन्य सवारीसाधनहरू रहेका छन्।
रुसी सञ्चारमाध्यमहरूका अनुसार सरवारोभले १९९० को दशक र २००० को सुरुवाती वर्षहरूमा ओसेटियन–इङ्गुश द्वन्द्व तथा चेचेन युद्धहरूमा लडाइँमा भाग लिएका थिए। उनले सन् २०१५–२०१६ मा सिरियामा भएका सैन्य अपरेसनहरूको पनि नेतृत्व गरेका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनलाई सरवारोभको मृत्युबारे तुरुन्तै जानकारी गराइएको थियो। फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता मस्कोमा थुप्रै सैनिक अधिकारीहरू र उच्च प्रोफाइल व्यक्तिहरू लक्षित आक्रमणको सिकार बनेका छन्। सन् २०२२ मा प्रमुख राष्ट्रवादी व्यक्तित्व तथा पुटिनका निकट सहयोगीकी २९ वर्षीया छोरी दार्या दुगिना एक सन्दिग्ध कार बम विस्फोटमा मारिएकी थिइन्।
गत अप्रिलमा जनरल यारोस्लाभ मोस्कालिक कार बम आक्रमणमा मारिए भने डिसेम्बर २०२४ मा जनरल इगोर किरीलोभ स्कुटरभित्र लुकाइएको विस्फोटक पदार्थ टाढाबाट विस्फोट गराइँदा मारिएका थिए। पछि एक युक्रेनी स्रोतले बीबीसीलाई किरीलोभलाई युक्रेनको सुरक्षा सेवाले मारेको दाबी गरेको थियो, यद्यपि यो कुरा आधिकारिक रूपमा पुष्टि भएको थिएन। नीतिगत रूपमा युक्रेनले यस्ता लक्षित आक्रमणहरूको जिम्मेवारी कहिल्यै औपचारिक रूपमा स्वीकार गर्दैन।