काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी इश्वर पोखरेलले पार्टीको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रहने बताएका छन् । विहीबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै पोखरेलले आफू विजयी हुन नसके पनि एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवाद उन्मुख अभियानमा अटूट रूपमा लागिरहने विश्वास व्यक्त गरे। साथै, उनले निर्वाचित नयाँ नेतृत्वलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका छन्।
पोखरेलले आफ्नो उम्मेदवारीप्रति विश्वासको मत प्रदान गर्ने मतदाता प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै महाधिवेशनका क्रममा उठाइएका सामूहिक नेतृत्व, विधि र पद्धतिमा आधारित पार्टी सञ्चालन तथा नियन्त्रण र सन्तुलनका विषयमा बहसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। महाधिवेशन निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै विजयी हुँदा इश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए।