काठमाडौँ । बोन्डी समुद्री किनारमा भएको गोलीकाण्डपछि अस्ट्रेलियाली प्रधानमन्त्रीले घृणात्मक अभिव्यक्तिविरुद्ध कडा कानुन ल्याउने घोषणा गरेका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आइतबार बोन्डी बीचमा यहूदी समुदायको पर्व हानुक्काको अवसरमा आयोजित कार्यक्रममा भएको घातक गोलीकाण्डपछि घृणात्मक भाषण र उग्र विचार फैलाउनेहरूविरुद्ध कडा कदम चाल्ने बताएका छन्।
उक्त आक्रमणमा दुई जना बन्दुकधारीले गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो। घटनाले अस्ट्रेलियालाई स्तब्ध बनाएको छ। प्रधानमन्त्री अल्बानिजीले नयाँ कानुनमार्फत “घृणा, विभाजन र उग्रवाद फैलाउने व्यक्तिहरूलाई लक्षित गरिने” बताए। नयाँ कानुनअनुसार घृणा फैलाउने व्यक्तिको भिसा रद्द गर्न वा अस्वीकार गर्न गृह मन्त्रालयलाई थप अधिकार दिइने छ। त्यसैगरी, शिक्षा प्रणालीभित्र यहूदीविरोधी गतिविधि रोकथाम, नियन्त्रण र उचित प्रतिक्रिया सुनिश्चित गर्न नयाँ कार्यदल गठन गरिने प्रधानमन्त्रीले जानकारी दिए।
नयाँ कानुनमा हिंसा प्रवर्द्धन गर्ने धर्मगुरु वा नेतामाथि दण्ड, “गम्भीर घृणात्मक भाषण” नामक नयाँ संघीय अपराध, साथै अनलाइन धम्की र दुर्व्यवहारका अपराधमा ‘घृणा’लाई सजाय निर्धारणको आधार बनाइने व्यवस्था समावेश गरिनेछ। प्रधानमन्त्री अल्बानिजीले भने, “हरेक यहूदी अस्ट्रेलियालीले सुरक्षित, सम्मानित र देशप्रति दिएको योगदानका लागि मूल्याङ्कन गरिएको महसुस गर्न पाउने अधिकार राख्छ।” उनले आक्रमणकारीहरू आईएस आईएसबाट प्रेरित आतंककारी भएको उल्लेख गर्दै भने, “उनीहरूले अस्ट्रेलियालीहरूलाई एकअर्काविरुद्ध उभ्याउन खोजे, तर अस्ट्रेलियालीहरूले घृणाको जवाफ माया र सहानुभूतिबाट दिएका छन्।
” प्रधानमन्त्रीले जुलाई महिनामा यहूदीविरोधी मामिलासम्बन्धी दूत जिलियन सेगलले प्रस्तुत गरेको प्रतिवेदनका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए। सेगलले यो समय “यहूदी समुदाय मात्र होइन, विश्वव्यापी रूपमा यहूदीविरोधी प्रवृत्तिविरुद्ध लड्नका लागि महत्वपूर्ण क्षण” भएको बताइन्। तर उक्त प्रतिवेदनले अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै केही पक्षबाट आलोचना समेत पाएको छ। विशेष गरी विश्वविद्यालय र कला संस्थामाथि निगरानी तथा यहूदीविरोधी गतिविधिमा असफल ठहरिएमा अनुदान रोक्ने प्रस्तावलाई लिएर चिन्ता व्यक्त गरिएको छ। यसले प्यालेस्टाइन समर्थक आन्दोलन दबाउने खतरा रहेको आरोप पनि लाग्दै आएको छ। गृह मन्त्री टोनी बर्कले सरकार “सीमारेखा परिवर्तन गर्ने” दिशामा अघि बढेको बताए।
उनले भने, “केही व्यक्तिहरूले अभिव्यक्ति स्वतन्त्रताको नाममा अमानवीय र अस्वीकार्य भाषा प्रयोग गर्दै आएका थिए, तर हिंसाको सीमामा नपुगेकाले कारबाही हुन सकेको थिएन।” यसैबीच, प्रधानमन्त्री अल्बानिजीले अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि यहूदी समुदायको सुरक्षामा सरकारले पर्याप्त काम नगरेको भन्ने आरोप स्वीकार गर्दै भने, “प्रधानमन्त्रीका रूपमा त्यसको जिम्मेवारी म लिन्छु। तर मेरो मुख्य दायित्व देशलाई एकताबद्ध राख्नु हो, किनकि अहिले जनताले चाहेको कुरा थप विभाजन होइन।” सामूहिक गोलीकाण्डमा संलग्न रहेको आरोपमा नवीद अकराममाथि १५ जनाको हत्या अभियोग लगाइएको छ। न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको आक्रमणसँग सम्बन्धित गरी नवीद अकरामविरुद्ध कुल ५९ वटा अभियोग दर्ता गरेको जनाएको छ, जसमा आतंकवादी गतिविधि गरेको एक अभियोग पनि समावेश छ।