काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी यही पुस ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्रको विषयवस्तु भ्रष्टाचार र सामाजिक बेथितिविरुद्धको चेतना जगाउने उद्देश्यले तयार गरिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार, चलचित्रकर्मीको दायित्व मनोरञ्जन मात्र होइन, समाजलाई जागरुक बनाउनु पनि हो। यसै मूल्यमा आधारित भएर चलचित्र निर्माण गरिएको हो।चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, विमोचन दवाडी लगायतका कलाकारले अभिनय गरेका छन्।
अभिनेता रमेश उप्रेतीले भने, चलचित्रले देशको समग्र अवस्था चित्रण गर्छ र आम नागरिकको कथामा आधारित छ। नवकलाकार विमोचन दवाडीले आफ्नो पुस्ताको भाव र आवाज चलचित्रमा समेटिएको अनुभव व्यक्त गर्नुभयो। चलचित्रमा कथा लेखन निर्देशक घिमिरेले गरेका छन् भने पटकथा गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।