काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ ।
आज बिहान ९ बजेर २० मिनेटमा सुरु भएको मतदानमा मध्याह्न १२ बजेसम्ममा करिब ४०० जनाले मतदान गरेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार प्रतिस्पर्धामा छन् । दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उमेदवारका समर्थक र शुभेच्छकहरूले आआफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।