काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै नेताले समर्थकसहित उपस्थित भएर आज उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्ष ओलीले अपराह्न ३ बजे उम्मेदवारी दर्ता गराएका थिए भने पोखरेलले करिब सोही समयमा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्।
महाधिवेशनअन्तर्गत अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। उम्मेदवारहरूको लाइन जारी रहेकाले तोकिएको समय केही लम्बिने देखिएको निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनले ३०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ।