काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित बन्डी बीचमा आइतबार साँझ यहूदी पर्व मनाइरहेका बेला भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना आक्रमणकारीसमेत रहेको न्यू साउथ वेल्स प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः४५ बजे क्याम्पबेल परेड क्षेत्रमा गोली चलेको सूचना पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। घटनामा नौ सर्वसाधारण र एक जना बन्दुकधारीको मृत्यु भएको छ। दोस्रो आक्रमणकारी गम्भीर अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा दुई प्रहरीसहित कम्तीमा ११ जना घाइते भएका छन्। साथै १८ जनालाई सिड्नीका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये छ जनालाई सेन्ट भिन्सेन्ट अस्पताल, छ जनालाई रोयल प्रिन्स अल्फ्रेड र सेन्ट जर्ज अस्पताल, चनर जनालाई रोयल नर्थ शोर र प्रिन्स अफ वेल्स अस्पताल तथा दुई जनालाई वेस्टमिड र सिड्नी चिल्ड्रेन्स अस्पताल लगिएको छ। घटनास्थल वरपर ‘शंकास्पद सामग्री’ फेला परेको र विशेषज्ञ टोलीले परीक्षण गरिरहेको प्रहरीले जनाएको छ। सुरक्षाका लागि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रहरीका अनुसार सिड्नीका अन्य स्थानमा यस घटनासँग सम्बन्धित थप घटना भएका छैनन्।
घटनाका बेला बन्डी बीचमा यहूदी समुदायको पर्व ‘हानुक्का’को अवसरमा ‘चानुकाह बाइ द सी’ नामक कार्यक्रम भइरहेको थियो। कार्यक्रममा सयौँ मानिस सहभागी थिए। अष्ट्रेलियन ज्यूअरीको कार्यकारी परिषद्का सह–प्रमुख कार्यकारी एलेक्स रिभचिनले घटनालाई जानीजानी र लक्षित रूपमा गरिएको आक्रमण भनेका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बन्डी बीचका दृश्यहरू “स्तब्ध बनाउने र पीडादायी” रहेको बताएका छन्। उनले अष्ट्रेलियन फेडरल प्रहरी आयुक्त क्रिसी बारेट र मुख्यमन्त्री क्रिस मिन्ससँग कुराकानी भएको जानकारी दिएका छन्। मुख्यमन्त्री मिन्सले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसाधारणलाई सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेका छन्।प्रहरीका अनुसार राति ८ः३० बजेसम्म सक्रिय आक्रमणकारी कोही नरहेको पुष्टि गरिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।