काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल भोली शनिबार हुँदैछ । फाइनल बाँकी हुँदा उपाधि होडमा रहेका दुई टिमका दुई ब्याट्सम्यान सर्वाधिक रनको दौडमा छन्। सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल सर्वाधिक रनको दौडमा रहेका छन् ।
फाइनल अगाडिको ग्राफ हेर्दा सुदूरपश्चिमका ओपनर भण्डारीले २६४ रन बनाउँदा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले २६० रन जोडेका छन्। भण्डारी सुदूरपश्चिमका विकेट किपर भएकाले उनले केही महत्त्वपूर्ण क्याच लिएका छन्। उनले एनपीएल यो सिजन ९ वटा क्याच लिएका हुन्। लुम्बिनीका कप्तान रोहितले भने सात विकेटसँगै ६ क्याच हात पारेका छन्।
एनपीएलमा उत्कृष्ट खेलाडीले कार पाउँछन् । कार पाउने खेलाडीमा सर्वाधिक रन मात्र भएर पुग्दैन समग्रमा सबै खेलको नतिजा हेरिन्छ । उपाधि दौडमै रहेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसमेत दाबेदार हुनसक्छन् भने सुदूरपश्चिमकै बलर अविनास बोहरा सर्वाधिक विकेटको दौडमा छन् । उनले १६ विकेट हात पर्दा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७ विकेट लिएका छन् । यो सिजन कारको दाबेदार सर्वाधिकर विकेट टेकर अविनास र सन्दीप, अलराउन्डर दीपेन्द्रसँगै सर्वाधिक रन जोड्ने विनोद र रोहितसमेत हुन् ।

अघिल्लो सिजन उपविजेता बनेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रले कार जितेका थिए । एनपीएल-२ को फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ।