काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको छ। घटनामा उनको साथमा सवार ३० वर्षीय दोर्जे लामा घाइते भएका छन्।
दुर्घटना बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल तामाकोशी नदी किनार नजिकै खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाइते लामा अहिले बोल्न सक्ने अवस्थामा रहेका छन् र उनको बायाँ घुँडा र गर्दनमा चोट लागेको छ। दुबै जनालाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको थियो।