काठमाडौँ। अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्म ‘जेरी अन टप’ शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ। फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज र एफक्युब लगायतका हलमा प्रदर्शन हुँदै आएको छ। गत असोज ३१ देखि प्रदर्शनमा रहेको फिल्मले ग्रस कलेक्सनमा १२ करोड २३ लाख ५२ हजार रुपैयाँभन्दा बढी आर्जन गरिसकेको छ।
यो अनमोलको करिअरकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ र यस वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो। निर्माण टिमले ५१ दिनको अवसरमा एफक्युब हलमा छोटो कार्यक्रम गरेर खुशी साट्ने तयारी गरेको छ। फिल्मका प्रस्तुतकर्ता सरोज न्यौपानेले अनमोल आगामी फिल्मको छायांकनमा व्यस्त रहेकाले ठूलो कार्यक्रम तत्काल नगर्ने बताए। निर्देशक सुयोग गुरूङले निर्देशन गरेको फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारको पनि मुख्य भूमिका छ। निर्माण पक्षले दर्शकको निरन्तर साथ र मायाका कारण यो सफलता सम्भव भएको भन्दै आभार व्यक्त गरेको छ। प्रस्तुतकर्ता न्यौपानेले फिल्मको दोस्रो शृङ्खला निर्माणको तयारी सुरु भएको जानकारी पनि दिएका छन्।