काठमाडौँ । शाङ्घाइमा भएका केही जापानी संगीत कार्यक्रमहरू अकस्मात् रोकिएपछि दर्शक तथा प्रशंसकले असभ्य र अत्यधिक कदम भन्दै आलोचना गरेका छन्। शुक्रबार जापानी गायिका माकी ओत्सुकी वन पिस एनिमेको थिम गीत गाइरहेको समयमा अचानक बत्ती र संगीत बन्द भयो र उनलाई स्टेजबाट छिट्टै लगिएको थियो। त्यसपछि शनिबार पोस्टार आयुमी हमासाकीको कन्सर्ट पनि बलपूर्वक कारण force majeure भन्दै आयोजकले रद्द गरे १४ हजार सिट भएको स्टेडियममा उनले खाली कुर्सीहरूबीच प्रतीकात्मक प्रस्तुति दिइन्।
यी घटना जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानबारे दिएको बयानपछि उत्पन्न भएको बेइजिङ–टोकियो बीचको तनावसँग जोडिएका छन्। ताकाइचीले चीनले ताइवानमाथि हमला गरे जापानले सैन्य कदम चाल्न सक्ने संकेत दिएकी थिइन्, जसलाई चीनले कडा आपत्ति जनाएको छ। शाङ्घाइमा तीन दिनसम्म चल्ने आयोजनाका अन्य कार्यक्रमहरू पनि विविध कारणहरुको समग्र मूल्यांकन गर्दै रोकिएको जापानी समाचार संस्था क्योडोले जनाएको छ। ओत्सुकीका व्यवस्थापनले पनि यसलाई अनिवार्य परिस्थितिको परिणाम भनेका छन्। घटनाबारे सोधिँदा चिनियाँ विदेश मन्त्रालयले चीनी आयोजकसँग सोध्नुस्” मात्र प्रतिक्रिया दियो।
सोसल मिडियामा केही प्रशंसकले ओत्सुकीलाई स्टेजबाट हटाइएको दृश्यलाई २०२२ मा कम्युनिस्ट पार्टी बैठकबाट पूर्व–राष्ट्रपति हुतन्ताओलाई हटाइएका दृश्यसँग तुलना गर्दै मिम बनाएका छन्, जुन भाइरल भयो। कसैकसैले चीनले जापानविरुद्धका कदममा आफ्नै नागरिकलाई सांस्कृतिक उपभोगबाट रोकिरहेको भनेर आलोचना गरे। त्यहाँ केहीले सोधे, दर्शक त चिनियाँ नै हुन्, उनीहरूको स्वतन्त्रता किन खोसिन्छ? अमेरिकी राजदूत जर्ज ग्लासले समेत सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै संगीतको शक्ति महसुस गर्न नसक्नेहरू देखिनु दुर्भाग्यपूर्ण भने। तर चिनियाँ सोसल मिडियामा राष्ट्रवादी प्रतिक्रिया पनि बढ्यो ।
केहीले यस्तो कूटनीतिक विवादको बेला जापानी कार्यक्रम सुरु नै हुनु नहुने तर्क गरे। हमासाकीले आफ्नो कन्सर्ट रोक्न सूचना पाएको भए पनि कृतज्ञता स्वरूप रिक्त स्टेडियममै प्रस्तुति दिएर टोलीलाई धन्यवाद दिइन्। उनले मनोरञ्जनले मानिसहरूलाई जोड्ने पुल बन्नुपर्छ भन्दै आशा व्यक्त गरिन्। यसअघि पनि चीनले कूटनीतिक तनावका कारण दुई जापानी एनिमे चलचित्रहरूको प्रदर्शन स्थगित गरिसकेको छ।