काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती तथा नातेदारलाई रोजगारी दिएको विवाद सार्वजनिक भएपछि सोमबार जेनजी युवाहरूको एक समूह प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे। तर बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कुराइए पनि उनीहरूलाई प्रधानमन्त्री भेट्न अनुमति दिइएन।
प्रधानमन्त्रीको सचिवालयले ‘प्रधानमन्त्री व्यस्त’ रहेको भन्दै युवालाई अलग कोठामा राखेर छलफलमा समय कटाइयो। त्यही क्रममा प्रधानमन्त्री कार्यकक्षबाट निस्किसकेको खबर आएपछि युवाहरू आक्रोशित बने र प्रेस संयोजक राम रावलमाथि आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामासमेत माग गरे। स्थिति तनाबपूर्ण बन्दै गएपछि प्रहरी समेत खटिनुपरेको थियो। सुदन गुरुङ समूह, रविकिरण हमाल समूह, कर्णाली जेनजी समूह–लगायत विभिन्न जेनजी समूहका करिब ५० जना युवा सिंहदरबार पुगेका थिए। प्रतिनिधि चयन गरिए पनि भेट नदिइएको उनीहरूको आरोप छ। सुप्रिया राज्यलक्ष्मी शाहीले आफूहरूलाई अर्को कोठामा राखेर प्रधानमन्त्रीलाई सुटुक्क बाहिर निकालिएको दाबी गरिन्।
युवाहरूले प्रमुख स्वकीय सचिव श्रेष्ठले गरेको नियुक्ति खारेज गर्ने उनलाई पदबाट हटाउने, महान्यायाधिवक्ता सबिता भण्डारीमाथि छानबिन मागसहितको ज्ञापनपत्र बुझाउन गएका थिए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले समाचारमा आएको दाबी पूर्ण सत्य नभएको बताए। मागमध्ये केही जायज रहेको र छलफल जारी रहेको उनले बताए। प्रेस संयोजक रावलले भने प्रधानमन्त्रीको व्यस्तताका कारण भेट मिलाउन नसकिएको दाबी गरे। कर्णाली जेनजीकी सुप्रिया शाहीले आज मंगलबार फेरि चार बजे प्रधानमन्त्रीलाई भेट्न जाने बताइन्। आज पनि भेट्न नदिए धर्ना बस्छौं,उनले चेतावनी दिइन्।