काठमाडौँ । भारतमा ७० मिलियन रुपैयाँ करिब ८ लाख डलर बराबरको बैंक लुट प्रकरण समाधान भएको छ। प्रहरीका अनुसार केन्द्रीय बैंकका कर्मचारी बनेर एटीएममा पैसा लैजाने भ्यान लुट्ने तीनजनालाई पक्राउ गरिएको छ। दक्षिण भारतीय शहर बेङ्गलुरु प्रहरीले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दिनअघि चोरी गरिएको रकममध्ये ५७.६ मिलियन रुपैयाँ बरामद गरिएको जानकारी दिएको छ ।
बेङ्गलुरुका प्रहरी आयुक्त सीमन्त कुमार सिंहका अनुसार बाकी रकम पनि फिर्ता हुने आशा गरिएको छ । घटनामा संलग्न दुई–तीन जना अझै फरार रहेको पनि उनले बताए। पक्राउ परेका व्यक्तिहरूमा क्यास ट्रान्स्पोर्ट कम्पनी सीएमएसका कर्मचारी गोपाल प्रसाद, सोही कम्पनीका पूर्वकर्मचारी जे जाभियर र स्थानीय प्रहरी जवान आनप्पा नाइक रहेका छन्। बेङ्गलुरुको लालबाग क्षेत्रमा खुलेआम लुटपाट गरेको थियो । प्रहरीका अनुसार लुटेराहरूले आफूलाई भारतीय रिजर्भ बैंकका अधिकारी भन्दै भ्यान रोकाइरहेका थिए ठूलो धनराशी भएकाले कागजात जाँच्नुपर्ने बताउँदै उनीहरूले भ्यानका क्यास कस्टोडियन र दुई सुरक्षा गार्डलाई एउटै एसयूभीमा बस्न निर्देशन दिए त्यसपछि लुटेरामध्ये एक जनाले क्यास भ्यानमा लिएर हिडेका थिए ।
सोही ग्याङले पछिल्लो चरणमा सवारीसाधन बदल्ने, नक्कली नम्बर प्लेट प्रयोग गर्ने र न्यून सीसीटीभी निगरानी भएका स्थान रोजेर क्यास बक्स सार्ने गरेको प्रहरीले जनाएको छ। बुधबारदेखि सुरू गरिएको ठूलो खोजी अभियानमा कर्नाटकका साथै केरला, तामिलनाडु, तेलंगाना, आन्ध्र प्रदेश र गोवा राज्यहरूमा २०० भन्दा बढी प्रहरी खटाइएका थिए। प्रहरीले सीएमएस कम्पनीको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ। क्यास भ्यानहरू एउटै मार्ग र समय दोहोर्याएर चलाइँदा पूर्वानुमान गर्न सजिलो हुने भएकाले यस्तो गल्ती दोहोरिन नदिन निर्देशन दिएको प्रहरी आयुक्त सिंहले भने।