काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका किशोर(किशोरीलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै मेटाले आफ्ना प्लेटफर्म इन्स्टाग्राम, फेसबुक र थ्रेड्समा रहेका किशोर प्रयोगकर्ताका अकाउन्ट बन्द गर्ने सूचना पठाउन थालेको छ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी मेटाले १३ देखि १५ वर्ष उमेर समूहका प्रयोगकर्तालाई टेक्स्ट मेसेज, इमेल र एपभित्रै नोटिफिकेसन पठाएर ४ डिसेम्बरदेखि अकाउन्ट निष्क्रिय गर्न सुरु गरिने जानकारी दिएको हो ।
अस्ट्रेलियामा यो प्रतिबन्ध १० डिसेम्बरदेखि पूर्ण रूपमा लागु हुनेछ । यो नियम मेटाका प्लेटफर्मका साथै टिकटक, युट्युब, एक्स र रेडिट जस्ता अन्य सामाजिक सञ्जालहरूमा पनि लागु हुनेछ । तर, त्यसअघि नै मेटाले किशोर-किशोरीको अकाउन्ट बन्द गर्न थालेको हो ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो प्रतिबन्धलाई ‘विश्वकै लागि उदाहरणीय’ भन्दै यसको उद्देश्य ‘बच्चाहरूलाई बच्चा नै रहन दिनु’ रहेको बताएका छन् । मेटा र अन्य प्रविधि कम्पनीले यस कदमको विरोध गरे पनि कानुनको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्ट्रेलियाको इन्टरनेट नियामकको अनुमान अनुसार फेसबुकमा करिब डेढ लाख र इन्स्टाग्राममा साढे तीन लाख किशोर-किशोरी १३ देखि १५ वर्ष उमेर समूहका छन् । यससँगै ४ डिसेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाले मेटाका सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ अकाउन्ट खोल्न पनि पाउने छैनन् । कम्पनीले युवा प्रयोगकर्तालाई आफ्नो सम्पर्क विवरण अपडेट गर्न आग्रह गरेको छ । यसो गर्दा ती प्रयोगकर्ता योग्य भए भने पुनः आफ्ना सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गर्न सक्छन् । अकाउन्ट बन्द हुनुअघि प्रयोगकर्तालाई आफ्ना पोस्ट, भिडिओ र मेसेज डाउनलोड गरेर सुरक्षित राख्ने सुविधा दिइएको छ ।