काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य तीव्र रूपमा अगाडि बढाएको छ। आयोगका अनुसार हालसम्म ६ लाख २० हजार नयाँ मतदाता नामावलीमा थपिएका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म आयोगका विभिन्न जिल्लास्तरीय कार्यालयमा गएर ३ लाख ११ हजार ४१५ जनाले प्रत्यक्ष उपस्थित भई फोटो खिचाएर नाम दर्ता गराएका छन्। त्यसैगरी, राष्ट्रिय परिचय पत्र प्रणालीमार्फत ३ लाख ८ हजार ५८५ जनाको बायोमेट्रिक विवरण प्रयोग गरी नाम दर्ता भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदाता नामावली मंसिर ५ गतेसम्म अद्यावधिक अवधि थपिएको जानकारी दिएको छ। आगामी प्रतिनिधि सभा चुनावमा १८ वर्ष उमेर पूरा गरेका नागरिकले मतदानमा सहभागी हुने व्यवस्था रहेको छ।