काठकाडौँ । बजारको खोजीमा गाउँ छोडेर शहर र विदेश पलायन गर्ने क्रम बढिरहेको छ, तर कमलप्रसाद पौडेलले यसको उल्टो बाटो रोजेका छन्। तीन दशकअघि बेनी बजार पसेका ५५ वर्षीय पौडेल जन्मथलो मल्लाज भवानीपानी फर्किएर बाँझिएको बारीलाई हराभरा तरकारीबारीमा परिणत गरेका छन्।
‘विसं २०५० मा घर, जग्गा र खेतीछोडेर बजार झरेका थियौं,’ उनले सम्झँदै भने, ‘ब्यापार र जागिरको अनुभवपछि सोचेजस्तो सफलता हात लागेन, त्यसैले गाउँ फर्केर तरकारीखेती थालेँ।’ पौडेलले चार रोपनी पुर्ख्यौली पाखोबारीमा बन्दा, काउली र ब्रोकाउली खेती गरेर बारीलाई व्यवस्थित गरेका छन्। सडक, सिँचाइ र बजारको पहुँच भएकोले यहाँ तरकारी खेती सम्भावना रहेको पौडेलको भनाइ छ। उनका तरकारी बेनी बजार हुँदै मुस्ताङसम्म बिक्री हुन्छन्।
बजारमा बसेर छोराछोरी पढाएर दुई छोरा सरकारी जागिरे र छोरी विदेशमा अध्ययनरत भएपछि, बाँझिएको पुर्ख्यौली जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्केका पौडेलले बताए। उनको मेहनत र लगनशीलताले छिमेकी गोपाल आचार्यले भने, ‘यदि मेहनत र परिश्रम गर्न तयार छौं भने गाउँमा पनि अवसर र सम्भावना छ।’
मल्लाज पर्वतको जलजला गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने यो क्षेत्र म्याग्दीको बेनी बजारसँग साँघुरो सामाजिक, आर्थिक र व्यापारिक सम्बन्धमा छ। विसं २०७४ मा सम्पन्न बृहत मल्लाज सिँचाइ आयोजनाले यहाँका किसानलाई खेतीमा सहजता ल्याएको छ।