काठमाडौँ । सपना र लक्ष्य सबै मानिससँग हुन्छन्। कसैको लक्ष्यले सफलता पाउँछ भने कसैले त्यसको लागि संघर्षरत रहँदै जीवनको यात्रा बीचमै रोकिनुपर्छ। जीवनमा को कसको भाग्य कस्तो हुन्छ भन्ने भविष्यवाणी गर्न सकिँदैन।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बसाहा निवासी सारकुमार राई पनि त्यस्तै जीवन संघर्षका कथा बोकेका थिए। कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका सारकुमार, काठमाडौं कपनमा मजदुरी गर्दै परिवारको जीवन सुधार्न जुटेका थिए। तर गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर उनी सहिद भए, र उनका सपनाहरू अधुरो रहिरहे।
सारकुमारका श्रीमती सुनिता राई बताउँछिन्, “जीवनमा यस्तो घटना कहिल्यै कल्पना नगरेकी थिएँ। तत्काल उहाँलाई फोन गरेँ, तर उठ्नुभएन। राति उहाँको साथीले फोन गरेर भन्नुभयो, ‘दाईलाई गोली लागेको छ, अस्पतालमा गम्भीर अवस्थामा छन्।’ त्यसबेला म बेहोस भएँ।”
सारकुमारको जीवन संघर्ष लामो थियो। २०५६–२०५८ सम्म सर्लाही र चितवनमा रोजगारी गर्दै, २०५८ मा उनले प्रेम विवाह गरेर परिवार बसाए । ठूली छोरीको शिक्षा समस्याका कारण छोरीलाई पर्याप्त पढाउन सकिएन। तर कान्छी छोरी आकृतिको पढाइ राम्रो भएको देखेर सारकुमार काठमाडौं गएर मजदुरी गर्दै छोरीलाई डाक्टर बनाउने अठोट गरे।
भदौ २३ को दिन जेनजी आन्दोलनका क्रममा काम छोडेर सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटबाट गोली लाग्यो र दाहिने तिर ढले। त्यो दिनपछि जब परिवार काठमाडौं पुगे, उनको मृत्यु भइसकेको थियो। सुनिता भन्छिन्, “श्रीमान् आफ्नो अधुरो सपना पूरा गर्न सक्नुभएन। तर म त्यो सपना पूरा गर्नेछु। छोरीलाई डाक्टर बनाउने मेरो अठोट छ।”सरकारबाट सहयोग स्वरूप प्राप्त १५ लाखमध्ये पाँच लाख शोकक्रियामा खर्च भयो ।
बाँकी रकम र सारकुमारले मजदुरीबाट बचाएको रकम बैंकमा सुरक्षित राखिएको छ। सुनिता यो रकमबाट छोरीको पढाइ सुनिश्चित गर्ने योजना बनाइरहेकी छिन्। छिमेकीहरूले सारकुमारलाई इमानदार,मेहनती र सोझो व्यक्ति भनेर सम्झन्छन्। उनले जीवनभर कष्ट सहेर पनि परिवार र छोरीको भविष्यको लागि संघर्ष गरे। उनको सपना अधुरो रह्यो, तर परिवार र छोरीले त्यसलाई पूरा गर्ने अठोट लिएका छन्। सारकुमार राईको जीवन कथा, त्यस्ता पिता र पति जसले आफ्ना सपनाहरू अधुरो छाडेर पनि परिवारको भलाइको लागि बलिदान दिने गर्छन्, हामी सबैका लागि प्रेरणादायी छ।