जाडोमा नुहाउनुलाई कतिपयले ‘बाघ मार्नु’ भन्छन् । जाडो महिनामा बिहान सबेरै उठेर चिसो पानीले नुहाउनुपर्दा धेरैलाई सकस हुन्छ । यस्तो धेरैले हरेक दिन किन नुहाउने भनी आफैँसँग प्रश्न पनि गर्छन् । केही दिन नुहाइएन भने के हानि गर्ला ? यस विषयमा बुझौँ
जाडोमा कम तापक्रमको कारणले गर्दा शरीरमा कम पसिना आउँछ । त्यसैले दैनिक ननुहाउँदा तत्काल कुनै हानि हुँदैन । यद्यपि, नुहाइधुवाई पूरै छोड्नु राम्रो विचार भने होइन, यो तपाईंको दैनिक दिनचर्या र शरीरको आवश्यकतामा निर्भर गर्दछ ।
– तपाईँ धेरै हिँडडुल गर्नु हुन्छ वा परिश्रम गर्नु हुन्छ, व्यायाम गर्नुहुन्छ वा बाहिर खुलामा काम गर्नु हुन्छ भने दिनहुँ नुहाउनु राम्रो हुन्छ ।
तर तपाईँ घरमै बसिरहनुहुन्छ, कम सक्रिय हुनुहुन्छ भने एक दिनको अन्तरमा नुहाउँदा पनि हुन्छ ।
धेरै तातो पानीले नुहाउनु हुँदैन, छालाको लागि मनतातो पानी राम्रो हुन्छ ।
तीन दिनसम्म ननुहाउँदा के हुन्छ ?
आलस्य वा चिसोको कारणले जाडोमा हामी कयौँ दिनसम्म नुहाउँदैनौँ । यस्तो अवस्थामा शरीरमा हल्का प्रभाव देखिन सक्छ ।
–हल्का गन्ध: छालामा ब्याक्टेरिया पसिनासँग मिलेर गन्ध उत्पन्न गर्न सक्छ ।
– छाला चिलाउँछ वा चिपचिप हुन्छ: मृत छाला र तेल जम्मा भएर छालालाई असहज बनाउन सक्छ ।
–सरसफाइको कमी: काखी, घाँटी र खुट्टा जस्ता क्षेत्रहरूमा ब्याक्टेरिया उत्पन्न हुन सक्छ ।
तर ३ दिनसम्म नुहाउनाले कुनै गम्भीर रोग लाग्दैन । यदि यो नियमित बानी बन्छ भने यसले छालाको सङ्क्रमण र दुर्गन्धसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ ।
३० दिनसम्म नुहाएन भने के हुन्छ ?
पूरै महिनासम्म ननुहाईकन बस्नु शरीरका लागि हानिकारक हुन सक्छ । यसले दुर्गन्ध मात्र होइन, अन्य धेरै शारीरिक समस्याहरू पनि निम्त्याउन सक्छ ।
–छाला पत्र जम्नु: फोहोर र मृत कोशिकाहरू जम्मा भएर छालामा बाक्लो तह बनाउँछन्, छिद्रहरू बन्द हुन्छन् ।
–संक्रमणः फंगस र ब्याक्टेरिया द्रुत गतिमा बढ्न सक्छन्, जसले गर्दा फोहोर खटिरा, चिलाउने र दागहरू निम्त्याउँछन् ।
–शरीरको कडा गन्ध: ननुहाउँदा शरीरमा कडा गन्ध आउन सक्छ ।
– सामाजिक प्रभाव: कडा गन्ध र अस्वच्छताले आत्मविश्वासमा कमी आउँछ र सामाजिक असहजता बढाउन सक्छ ।
३० दिनसम्म ननुहाईकन बस्नु भनेको छाला र सामाजिक दृष्टिकोण दुवैबाट हानिकारक छ । यो बानीले सङ्क्रमण र छाला रोग निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन् ।
ननुहाईकन कति दिनसम्म बस्न सकिन्छ ?
प्रत्येक व्यक्तिको जीवनशैली र वातावरण फरक हुन्छ । यद्यपि, केही सामान्य मापदण्डहरू पालना गर्न सकिन्छः
– १–२ दिनको अन्तरमा नुहाउनु जाडोमा सामान्य र सुरक्षित मानिन्छ ।
–३–४ दिनमा नुहाउँदा शरीरमा हल्का गन्ध, चिलाउने, वा सुख्खापन सुरु हुन सक्छ ।
–७ दिनमा नुहाउँदा सङ्क्रमण र गन्धको जोखिम बढ्छ ।
–३० दिनः यो अवधि ननुहाईकन बस्नु धेरै हानिकारक छ । यसो गर्दा छाला रोग र फंगसको जोखिम उच्च हुन्छ ।
त्यसैले, एक दिन बिराई नुहाउने प्रयास गर्नुहोस् वा कम्तीमा शरीरको मुख्य भागहरू सफा गर्नुहोस् । विशेष गरी काखी, घाँटी, तिघ्रा र खुट्टा जस्ता पसिना आउने क्षेत्रहरू सफा गर्नुपर्छ ।
जाडोमा नुहाउनका लागि टिप्स
–धेरै तातो पानीबाट नुहाउनबाट बच्नुहोस् । मनतातो पानी पर्याप्त हुन्छ ।
– नुहाएलगत्तै बडी लोशन वा मोइस्चराइजर लगाउनुहोस् ।
–हरेक दिन पूरा नुहाउन सम्भव छैन भने, ‘स्पट क्लिनिङ’ (शरीरका मुख्य हिस्सा सफा गर्ने) को प्रयास गर्नुहोस् ।
–छाला धेरै सुक्खा छ भने, नुहाउनुको सट्टा हल्का ओसिलो तौलियाले पुछ्नुहोस् ।