काठमाडौँ । एच–१ बी भिसामा कडाइ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विदेशबाट दक्ष कामदारको आवश्यकता छ भन्दै सो भिसाको बचाउ गरेका छन्।
ट्रम्पले सेप्टेम्बरमा एच–१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले अमेरिकी सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम ल्याएका थिए। त्यतिबेला सो भिसा लिने सबै विदेशीको हकमा त्यो शुल्क लाग्ने बताइएको थियो। तर गत महिना सरकारले नयाँ सूचना निकाल्दै सो शुल्क अमेरिका बाहिर बस्ने विदेशीलाई मात्रै लाग्ने बताएको थियो। यसको मतलब अरू खालका भिसामा अमेरिकामा पहिल्यैदेखि बसिरहेका विदेशीका हकमा सो शुल्क लाग्ने छैन।
ट्रम्पले प्रतिवाद गर्दै प्रतिभा भित्र्याउन पनि आवश्यक भएको जिकिर गरे। अमेरिकामा पहिले नै प्रतिभाशाली मानिसहरू छन् भनेर पत्रकारले औंल्याउँदा उनले छैनन् भने। हामीसँग निश्चित प्रतिभाहरू छैनन् उनले जोड दिए। अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१ बी भिसा प्रयोग गर्छ। त्यस्तो भिसा लिनेमा विदेशमा रहेका कामदार मात्रै नभएर अमेरिकामा पढ्दै गरेका विदेशी विद्यार्थी र अरू भिसामा अमेरिकामा रहेका व्यक्ति पनि पर्छन्।
यसले विशेष गरी अमेरिकी प्रविधि कम्पनीहरूलाई ठूलो राहत भएको छ। ठूला प्रविधि कम्पनीले प्रायस् जसो अमेरिकामै पढिरहेका वा अल्पकालीन रूपमा काम गरिरहेकालाई सो भिसाका लागि सिफारिस गर्छन्। द वाल स्ट्रिट जर्नलका अनुसार सन् २०२४ मा जारी गरिएका एक लाख ४१ हजार नयाँ एच–१ बी भिसामध्ये लगभग ५४ प्रतिशत अर्कै भिसामा पहिले नै अमेरिकामा रहेका आप्रवासीलाई दिइएको थियो।
ट्रम्पले लगाएको १ लाख डलर शुल्क विरूद्ध अमेरिकाभित्रै धेरै मुद्दा परेका छन्। अर्कोतर्फ अमेरिकाले एच–१ बी भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्न चीनले अक्टोबरदेखि नयाँ ‘के’ भिसा ल्याएको छ। यस्तो बेलामा अमेरिकाले एच–१ बी भिसामा केही लचकता देखाएको हो। त्यसैलाई निरन्तरता दिने क्रममा ट्रम्पले एच–१ बी भिसाको बचाउ गरेका हुन्।