काठमाडौँ । नेपालको पहिलो स्पिच–रियालिटी शो ‘द स्पिकिङ टाइटन’ का लागि शिक्षा विज्ञ, ईक्यानका अध्यक्ष तथा अर्बिट इन्टरनेशनल एजुकेशनका निर्देशक शेषराज भट्टराई निर्णायक (जज) नियुक्त भएका छन्। देशभरका युवाहरूको विचारशक्ति, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम नेपालकै पहिलो रियालिटी शो हो, जहाँ युवाहरूको प्रतिभा उनीहरूको भाषण–कला मार्फत् मूल्यांकन गरिन्छ।
भट्टराईसँगै निर्णायक मण्डलमा प्रख्यात पत्रकार दिलभूषण पाठक र चर्चित सञ्चारकर्मी तथा सामाजिक अभियन्ता माल्बिका सुब्बा रहेका छन्। यी तीन निर्णायकको संयोजनले ‘द स्पिकिङ टाइटन’ लाई विचार, शैली र प्रेरणाका दृष्टिले उच्चस्तरीय प्रतिस्पर्धात्मक मञ्च बनाएको छ।
शेषराज भट्टराईको निर्णायकको रूपमा सहभागिता भएको एपिसोड ९ र १० हालै प्रशारण भइसकेको छ, जसले दर्शकमाझ उत्कृष्ट प्रतिक्रिया र प्रशंसा प्राप्त गरेको छ। उनको तर्कशक्ति, सहज संवादशैली र युवाप्रतिको प्रेरणादायी दृष्टिकोणले शोमा बौद्धिक गहिराइ र सकारात्मक ऊर्जा थपेको दर्शकहरूले बताएका छन्।
‘द स्पिकिङ टाइटन’ एपी वान टेलिभिजनमा हप्तामा दुई दिन प्रशारण हुँदै आएको छ। कार्यक्रमले देशभरका युवाबीच सार्वजनिक बोल्ने कला, विचार प्रस्तुति, र सामाजिक चेतनाको प्रतिस्पर्धा गराउँदै नयाँ पुस्ताका आवाजलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ।