काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीहरूले घुसपैठ गरेर हिंसा मच्चाएको जिकिर गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै ओलीले आन्दोलनमा प्रहरीसँगै नभएका स्वचालित हतियारले गोली हानिएको भन्दै घटनाको छानबिन गर्न माग गरेका हुन् ।
‘गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए र हाम्रा युवाहरूको ज्यान गयो,’ सन्देशमा ओलीले भनेका छन्, ’सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।’ घटनाप्रति दुःख व्यक्त गर्दै उनले दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् । यतिबेला संविधानमाथि ठुलो आक्रमण भएको उनले बताएका छन् ।