काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्। नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन्।
भारती विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै मिस्री आइतबार नेपाल आउने जनाएको हो। विदेश सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको औपचारिक भ्रमणको निम्तो दिनेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जानेछन्।
प्रधानमन्त्री ओली भारत भ्रमणभन्दा अगाडि चीन भ्रमणमा जान लागेका छन्। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल–भारतबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको मन्त्रालयले जनाएको छ। भारतले आफ्नो छिमेकी नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको मन्त्रालयको भनाइ छ।
विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ। भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ्ने मन्त्रालयको विश्वास छ।