काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।
ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्।
अमेरिकी मिडिया सिएनएनका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र छलफल र त्यसको प्रगतीबारे संवाद गरेका थिए।
ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्। उनले ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै त्यसका लागि धन्यवाद पनि भनेका छन्।