काठमाडौँ । अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने सोमबार घोषणा गरेका छन्।
उनले प्यालेस्टाइनलाई मान्यता दिनु मध्य पूर्वमा हिंसाको चक्र तोड्न र गजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न मानवताको सबभन्दा ठूलो आशा भएको बताएका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने क्यानडा र युरोपेली राष्ट्रहरूको घोषणालाई शर्मनाक भनेका थिए। गजाको मानवीय संकटका कारण बढ्दो आलोचनाको सामना गरिरहेका नेतन्याहूले त्यसो भनेको केही घण्टापछि अस्ट्रेलियाले यस्तो घोषणा गरेको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
फ्रान्स, क्यानडा र बेलायत सहितका पश्चिमा राष्ट्रले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेजस्तै अस्ट्रेलियाले पनि इसराइललाई दबाव हाल्न यस्तो निर्णय लिएको हो।