चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।
पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । ‘गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो। यसबाट बाहिर निस्कँदा पार्टी बन्छ’ उनले भने ।
कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।