काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।
आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत)ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताए। उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उनले जानकारी दिए ।