वासिङ्टन डीसी । अमेरिकी संसदको तल्लो सदन ९प्रतिनिधि सभा०ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने ‘बिग ब्यूटीफुल’ विधेयक पारित गरेको छ । यस विधेयकको समर्थनमा २१८ जनाले मतदान गर्दा विपक्षमा २१४ जनाले मतदान गरेका थिए।
ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले यस विधेयकको विपक्षमा मतदान गरेका थिए । ट्रम्प र खर्बपति व्यापारी एलन मस्कले यस विधेयकको बारेमा एकअर्काविरुद्ध तीखो अभिव्यक्ति दिएका थिए ।
ट्रम्पले अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को साँझ ५ बजे एक ठुलो र भव्य समारोहमा यो विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् । यो विधेयक दुई दिन अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा ५०–५१ को साँघुरो मतान्तरले पारित भएको थियो । उपराष्ट्रपति जेडी भान्सले यस विधेयकमा निर्णायक मतदान गरेका थिए ।
ट्रम्पको विधेयकलाई मस्कले भनेका थिए पागल
शनिबार मस्कले एक पटक फेरि ट्रम्पको ठुलो सुन्दर विधेयकको आलोचना गरेका थिए । ‘ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्नेछ र हाम्रो देशलाई ठुलो रणनीतिक क्षति पुर्याउनेछ ।’ शनिबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले एउटा पोष्टमा लेखेका थिए ।
‘यो पूर्णतया पागल र विनाशकारी छ । यो कानूनले पुराना उद्योगहरूलाई छूट दिन्छ, तर भविष्यका उद्योगहरूलाई नष्ट गर्नेछ ।’ पोष्टमा अझ अगाडि उनले लेखेका थिए । मस्कले गत महिना ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिएका थिए ।मस्कको यो ट्वीट पछि, ट्रम्पले भनेका थिए मस्कलाई दिइँदै आएको अनुदान रोकियो भने, उनले आफ्नो पसल (कम्पनी) बन्द गरेर दक्षिण अफ्रिका फर्किन बाध्य हुने बताएका थिए । अनुदान रोकिएपछि टेस्लाले विद्युतीय कार उत्पादन गर्न नसक्ने अनि स्पेसएक्सको रकेट र उपग्रहहरू प्रक्षेपण पनि बन्द हुने उनको भनाइ थियो ।