काठमाडौँ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा परेकी छन् । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन सुरु गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो । यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गरेकी थिइन् । त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ ।
थाइल्यान्डका रूढीवादी सांसदहरूले यही फोनवार्तालाई लिएर प्रधानमन्त्री कम्बोडिया सामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । यो विषय संवैधानिक अदालतमा पुगेपछि अदालतले आजैदेखि लागू हुने गरी अन्तिम निर्णय नआउञ्जेलका लागि शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको बीबीसीले जनाएको छ ।