काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली छानविन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघ दोलखा काठमाडौँ सम्पर्क समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानबिन आयोग बनाएर २०४६ पछि विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानविन गर्ने जिम्मेवारी दिनुपर्ने बताए।
छानविन गर्दा जो–जो परे पनि त्यसलाई स्वीकार गछौँ भनेर कांग्रेसले भन्न सकेमात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनले बताए। थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहकोबीचमा जान नसक्ने धारणा राखे।
उनले जुनसुकै कुरामा चित्त नबुझे पनि अब उपरान्त विश्वविद्यालयमा तालावन्दी नगर्ने, कालोमोसो नदल्ने, तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे। थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए। अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरुको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ।