काठमाडौँ । बिहीबार रातिदेखि शुक्रबार रातभरि इजरायल र इरानबीच एकअर्काविरुद्ध भीषण आक्रमण भएका छन्। बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर(डिफेन्स सिस्टम, आणविक भट्टी, र वरिष्ठ अधिकारीहरूलाई निशाना बनाएर एकैसाथ आक्रमण गरेको थियो।
इजरायलले इरानको राजधानी तेहरान वरपर भीषण हमला गरेको बताइएको छ। इजरायलको आक्रमणपछि इरानले पनि जवाफी हमला गरेको थियो।
बिहीबार राति इरानले २०० भन्दा बढी लडाकू विमानसहित तीन सयभन्दा बढी हतियार प्रयोग गरी इजरायलमाथि हमला गरेको थियो। यस क्रममा कम्तीमा १०० लक्ष्यहरूमा निशाना बनाइएको बताइएको छ। इरानले सोही दिन १०० वटा ड्रोन तेल अभिभ र जेरुसेलममा प्रहार गरेको थियो, जसमध्ये अधिकांश ड्रोनलाई इजरायलले निस्तेज पारेको थियो।
शुक्रबार राति इरानले ब्यालिस्टिक मिसाइल प्रयोग गरी इजरायलमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलको राजधानी तेल अभिभ र जेरुसेलममा ठूला विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन्। त्यहाँका एयर डिफेन्स सिस्टम रातभरि सक्रिय रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इजरायलको सैन्य र हवाई अड्डालाई लक्षित गरी आक्रमण गरिएको बताएको छ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, शुक्रबार रातिको इरानी हमलाबाट इजरायलमा भौतिक क्षति भएको र मानिसहरू घाइते भएका छन्। इरानको आक्रमणबाट इजरायलको गुस दान क्षेत्रमा ३४ जना घाइते भएको खबर छ।
शुक्रबार संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सइद इराभनीले इजरायली आक्रमण र त्यसले इरानमा पुर्याएको क्षतिबारे जानकारी गराएका थिए। उनका अनुसार इजरायली आक्रमणबाट इरानमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ, जसमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि सामेल छन्। यस्तै, ३२० जना नागरिक घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडिओ सन्देश जारी गर्दै आक्रमण अझै जारी रहने संकेत दिएका छन्। यो बढ्दो तनावले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउन सक्ने देखिएको छ।