काठमाडौँ । फिल्म महाभोज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। दिनेश राउत निर्देशित यस चलचित्रले करिब २०० शोसहित सार्वजनिक प्रदर्शन सुरुवात गरेको हो।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
काठमाडौँका केही दिनअघि प्रिमियर भइसकेको महाभोजको टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो। यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शो सम्पन्न गरिएका छन्। हाल चलचित्रको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला यस फिल्मले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
उपत्यका बाहिरका प्रिमियर शोमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए।
चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ। प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्ति, पत्रकार र केही सहकारीपीडित पनि सहभागी थिए।विशेष गरी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्।
उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो। यसका निर्माता हिमाल कडरिया हुन्।