काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई ठूलो रकमको जरिवाना लगाउने नयाँ नीति लागू गरेका छन्।
आप्रवासीहरूलाई स्वेच्छाले अमेरिका छाड्न बाध्य पार्नका लागि ट्रम्प प्रशासनले एकै व्यक्तिलाई १८ लाख डलरसम्मको जरिवाना तोकेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हालैमात्र ट्रम्प प्रशासनले एक आप्रवासी महिलालाई १८ लाख डलर जरिवाना तोकेको छ।
एक दशकभन्दा अगाडि अमेरिका आएकी ३२ वर्षीया विन्डी अर्टिजलाई ट्रम्प प्रशासनले जरिवानाबापत १८ लाख डलर तिर्नुपर्ने पत्र थमाएको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प प्रशासनले झन्डै ४ हजार ५०० जना अवैध आप्रवासीहरूलाई जरिवाना तोकेको छ। उक्त सूचीमा यसअघि स्वेच्छाले अमेरिका छाड्न भनिएको तर अटेर गरेर बसिरहेकाहरू समावेश रहेको ती अधिकारीले रोयटर्सलाई बताएका छन्। त्यस्ता व्यक्तिहरूमाथि कुल ५० करोड डलर जरिवाना तोकिएको ह्वाइट हाउसका ती अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
त्यस्ता आप्रवासीहरूलाई दैनिक ९९८ अमेरिकी डलरबराबरको जरिवाना बुझाउनुपर्ने भनिएको छ। सोही आधारमा पाँच वर्षसम्मको हिसाब गरी १८ लाख जरिवाना निर्धारण गरिएको हो।