काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ ।
त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् ।
उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । सिड्नीजस्तो प्रमुख सहर रहेको न्यू साउथ वेल्स राज्यमा बसोबास गर्दै आएका युवा फिल्ममेकरलाई स्क्रिन बोर्डले वर्षेनी पुरस्कृत गर्ने गर्छ।
डेढ दशकदेखी सिड्नीमा बस्दै आएका ज्ञवाली नेपाली र विदेशी भाषाका फिल्ममा सक्रिय छन् । उनी नेपाली फिल्म ‘दोख’का निर्माता हुन भने अष्ट्रेलियामा नै छायांकन गरिएका नेपाली फिल्म ऋतु, द ब्रेकअप, विनर, लप्पनछप्पन २ को लाइन प्रोड्युसर पनि हुन ।