काठमाडौँ । भारतले पाकिस्तानमा सुरु गरेको गरेको ‘अपरेशन सिन्दूर’ जारी रहेको जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज दिल्लीमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेशन सिन्दूर’ को बारेमा जानकारी दिएको केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मन्त्री रिजिजूले ‘अपरेशन सिन्दूर’ निरन्तर चल्ने अपरेशन रहेको र सर्वदलीय बैठक प्रभावकारी रूपमा सम्पन्न भएको बताए। यस्तै सर्वदलीय बैठकमा सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको आक्रमणमा साथ रहेको विश्वास दिलाएका खबरमा उल्लेख छ ।
यसैबीच भारतका विदेशमन्त्री एस जयशङ्करले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे कडा जवाफ दिइने जनाएको । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशङ्करले पाकिस्तानलाई चेतावनी दिए ।
यस्तै पाकिस्तानले भारतबाट दोस्रो आक्रमण भएको आरोप लगाएको छ । राजधानी इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले भारतले देशविरुद्ध दोस्रो स्पष्ट सैन्य आक्रमण गरेको दाबी गरेका खबरमा उल्लेख छ । यस्तै भारतले लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ भने पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।
२६ जना पर्यटकको ज्यान जाने गरी जम्मू–कश्मीरको पहलगाममा गएको महिना भएको आतङ्कवादी आक्रमणाको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको आक्रमणबाट कम्तीमा ३१ जना र पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको ज्यान गएको छ ।