धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.७० अंकले बढेर दुई हजार सात सय ६६.३८ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२१ अंकले उकालो लागेर ४८३.६८ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ।
नेप्सेका अनुसार पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता सेयर रु. २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा खरिद–बिक्री भएका छन्।
आज विभिन्न ६ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन्।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर ८.०४, सानिमा बैंकको ऋणपत्र ७.६९, आरम्भ चौतारी लघुवित्त ४.९३, रुरु जलविद्युत् परियोजना ४.८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाएका छन्।