काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको निर्णायक बैठक सुरु भएको छ।
उक्त बैठकले पार्टी सरकारमा बस्ने कि नबस्ने निर्णय गर्ने बताइएको छ। जसका कारण सबैले उक्त बैठकलाई निकै चासोका साथ हेरिरहेका छ्न।
त्यसअघि उक्त पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।
उक्त बैठकलगत्तै लामिछानेले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि शनिबार राति काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। शनिबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
सत्ता संकट
पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। लामिछानेलाई ओलीले पनि साथ दिइरहेका थिए।
तर, प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेको बताइएको छ।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।