काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा. नूतन शर्मासँग बयान लिएको छ । असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ ।
सो घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार डा.शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले बताए ।
किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । डा.शर्मामाथि अनुसन्धान जारी रहेको एसएसपी काकीले बताए।
यसअघि प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखिएको छ । डा.नूतन शर्मा वरिष्ठ स्त्रीरोग तथा टेष्टट्युब बेबी विशेषज्ञ हुन् ।