काठमाडौं । नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकन तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरेपछि कृष्ण पौडेलले सरकारको राहत व्यवस्थापन तथा वितरण प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्।
पौडेलले सामाजिक सञ्जालमार्फत आफूले प्रभावित क्षेत्रमा प्रत्यक्ष देखेका र पीडितहरूबाट सुनेका घटनाहरू सार्वजनिक गर्दै राहत सामग्री पर्याप्त भएजस्तो देखिए पनि वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुग्न नसकेको दाबी गरेका छन्। उनका अनुसार, एक वृद्धले आफू १०–१२ घण्टादेखि भोकै रहेको भन्दै कम्तीमा एउटा चाउचाउ भए पनि दिन आग्रह गरेका थिए। तर राहतका लागि नाम टिपाउने समयमा उपस्थित नभएको भन्दै उनलाई वितरणस्थलबाट फर्काइएको पौडेलको दाबी छ।
त्यस्तै, च्यातिएको सर्ट लगाएका एक पीडितले खाना नपाएको भन्दै एउटा टी–सर्ट माग्दा समेत सहयोग नपाएको पौडेलले बताएका छन्। राहत माग्न आएका पीडितप्रति गरिएको यस्तो व्यवहारले आफू स्तब्ध भएको उनको भनाइ छ। पीडितसँगको कुराकानीका क्रममा एक महिलाले सरकार र कर्मचारीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको पौडेलले उल्लेख गरेका छन्। उनका अनुसार ती महिलाले सहयोग माग्नु आफ्नो रहर नभई विपत्तिका कारण बाध्यता भएको बताएकी थिइन्।
“हामी गरिब थियौँ, अहिलेको सरकार र कर्मचारीले हामीलाई भिखारी सोचेका रहेछन्। सहयोग हामीले रहरले होइन, बाध्यताले मागेका थियौँ।”
पौडेलका अनुसार प्रभावित क्षेत्रमा पीडितहरूको बसोबास, सरसफाइ तथा राहत वितरणमा समेत समस्या देखिएको थियो। उनले सामाजिक सञ्जालमा सरकारको सक्रियता देखिए पनि वास्तविक पीडितसम्म राहत पुग्न नसकेको भन्दै प्रश्न उठाएका छन्। उनले भनेका छन् सरकार सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ, घरभरि राहत छ, तर जनताले पाएका छैनन्। स्थलगत अवस्थालाई सुशासनसँग जोड्दै पौडेलले विपद्का बेला राहत व्यवस्थापन र वितरण प्रणाली प्रभावकारी, पारदर्शी तथा पीडितमैत्री हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका सार्वजनिक गरिएका विवरणले राहत सामग्रीको उपलब्धताभन्दा पनि त्यो सामग्री वास्तविक पीडितसम्म कसरी र कति प्रभावकारी रूपमा पुगिरहेको छ भन्ने प्रश्न उठाएको छ।