काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार र एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका हुन्।
रास्वपाको निर्णय भनिएको बैठक केहीबेरमा बस्दैछ। उक्त बैठकले पार्टी सरकारमा बस्ने कि नबस्ने निर्णय गर्ने बताइएको छ।
उक्त बैठकलगत्तै लामिछानेले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। लामिछानेलाई ओलीले पनि साथ दिइरहेका थिए।
तर, प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेको बताइएको छ।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।