काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको उल्लेख गरेका छन्।
भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आएका लूले यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए।