काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने अनुमति लिएका म्यानपावर कम्पनी तथा संस्थाले कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृतिको माध्यमबाट कामदार विदेश पठाएको पाइए कारबाही गरिने वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा रहेको व्यवस्थाविपरीत कामदार पठाउने गतिविधि नगर्न इजाजतप्राप्त संस्थाहरूलाई सचेत गराएको हो। उक्त कानुनी व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउन अनुमति पाएका संस्थाले व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाउन पाउँदैनन्। विभागका अनुसार पछिल्लो समय युरोपलगायत विभिन्न देशमा म्यानपावर कम्पनीमार्फत कामदार पठाउने भन्दै सम्बन्धित देशमा कामदार पठाउन आवश्यक पूर्वस्वीकृति लिइएको छ वा छैन भन्ने यकिन नगरी व्यक्तिगत श्रम स्वीकृति गराउने प्रवृत्ति देखिएको छ।
त्यसैले विदेश जानुअघि सम्बन्धित देशमा कामदार पठाउन आवश्यक स्वीकृति लिइएको छ कि छैन भन्ने विषयमा यकिन गर्न विभागले आग्रह गरेको छ। त्यस्तै, कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले व्यक्तिगत श्रम स्वीकृति गराएर विदेश पठाइदिने भन्दै आर्थिक कारोबार गर्न खोजेमा वा त्यस्तो गतिविधि भइरहेको जानकारी पाएमा विभागलाई खबर गर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ। विभागले यस्ता गतिविधिबारे जानकारी दिने सूचनादाताको विवरण पूर्ण रूपमा गोप्य राखिने जनाएको छ। विभागले वैदेशिक रोजगारीका नाममा हुने गैरकानुनी गतिविधिबाट सचेत रहन र कानुनी प्रक्रिया पूरा गरेर मात्रै विदेश जानसमेत आग्रह गरेको छ।
