काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा संकलित रकमलाई मुलुकको भौतिक पूर्वाधार विकासमा परिचालन गर्ने विषयमा सरकारले काम गरिरहेको बताएका छन्।
शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषको रकम लगानीमा ल्याउन विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने विकल्पबारे छलफल भइरहेको जानकारी दिए। अनिवार्य पेन्सनका लागि छुट्याइएको रकम परिचालन गर्दा कोषले पूरा गर्नुपर्ने न्यूनतम दायित्व सुनिश्चित हुने गरी ब्याजदर निर्धारण गर्ने विषयमा समेत गृहकार्य भइरहेको उनले बताए।विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा ल्याएर दिगो प्रणाली विकास गर्ने विकल्पमाथि पनि छलफल भइरहेको वाग्लेले बताए। स्वास्थ्य बीमालगायत लोककल्याणकारी कार्यक्रमको समीक्षा गरी आगामी बजेटमा प्राथमिकताका साथ अघि बढाउने सरकारको योजना रहेको उनले उल्लेख गरे।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गरिने उनले बताए। चालु आर्थिक वर्षमा श्रमिक तथा कर्मचारीको कोषमा आबद्धता बढाउन सरकारले १ अर्ब ८० करोड रुपैयाँ छुट्याएको जानकारी दिँदै उनले आगामी पाँच वर्षसम्म निरन्तर बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिए।सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन सुधारका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको वाग्लेको भनाइ छ। आगामी बजेटपछि यस प्रणालीलाई संस्थागत गरी निरन्तरता दिन सकिने उनको दाबी छ।
बजेटको सीमितताबारे चर्चा गर्दै उनले मागअनुसार र मागेकै समयमा सबै रकम उपलब्ध गराउन नसकिए पनि सामाजिक सुरक्षासम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहने बताए। आगामी बजेट निर्माणमा सरोकारवालाको सुझाव र सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो।सामाजिक सुरक्षा प्रणालीका मुख्य आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गर्दै वाग्लेले न्यून आय भएका, विपन्न तथा आयआर्जन गर्न नसक्ने नागरिकलाई राज्यले सामाजिक सहायतामार्फत संरक्षण गर्नुपर्ने बताए। योगदान गर्न सक्ने नागरिकलाई भने योगदानमा आधारित सामाजिक बीमामा समेटेर सुरक्षा प्रणालीलाई सर्वव्यापी बनाउने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे।
सामाजिक सुरक्षा कार्यक्रमलाई खर्चका रूपमा मात्र नभई आर्थिक उत्पादकत्वसँग जोडेर हेर्नुपर्नेमा पनि उनले जोड दिए। यसले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक समृद्धि सिर्जना र त्यसको न्यायोचित वितरणमा योगदान पुर्याउने वाग्लेको तर्क छ।सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनबाट नयाँ पुस्तालाई राज्यको संरक्षणको अनुभूति दिलाउन र जनसाङ्ख्यिक लाभ लिनसमेत सहयोग पुग्ने उनले बताए। त्यसैले कोषको दायरा विस्तारमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।