काठमाडौं। युवा राजनीतिकर्मी तथा विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य रहेका अब्दुस मियाले स्वतन्त्रबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएका छन्।
नेपाली पब्लिकसँग कुरा गर्दै उनले स्वतन्त्रबाट प्रतिनिधि सभा चुनावमा काठमाडौं–६ बाट उम्मेदवारी दिने र त्यसको केही दिनमै औपचारिक घोषणा गर्ने जानकारी दिए।
उनले जनताको सर्वोच्च थलो संसदमा विकासमा नयाँँ नयाँ भिजन भएका व्यक्तिहरुले पुग्न आवश्यक रहेकोले आफू त्यसमा योग्य रहेको दाबी गरे। देशमा नयाँ राजनीतिक सोचको आवश्यकता रहेकोले आफू प्रतिनिधिसभाको चुनावमा उठ्न लागेको उनले बताए।
विगत ५ वर्ष वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेको भए पनि अध्यक्षको राजीनामापछि पार्टी विघटनको अवस्थामा पुगेकोले स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए।
स्थानीय तहको चुनावमा पार्टीले पराजय भोगेको भन्दै विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिएका थिए। तर, वैकल्पिक शक्ति निर्माण अभियान भने नरोकिने उनले बताए।
आइटी कम्पनी र युवाहरुमाझ नेतृत्व क्षमता विकास गर्ने लिडरसिप कर्नरका संस्थापक तथा प्रमुख कार्यकारी, मोटिभेटरसमेत रहेका अब्दुस मिया परिचित नाम हो।
कान्छा राजनीतिकर्मी भनेर चिनिएका अब्दुस विशेष गरी युवामाझ निकै लोकप्रिय छन्।