काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसअनुसार वर्तमान मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानअनुसार मन्त्रिपरिषद्को वरीयता हेरफेर गरिएको जनाएको हो।राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम २०८२ चैत १३ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम संशोधन गरिएको हो। १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्।
संशोधित वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन्। यसअघि सातौँ स्थानमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा छन्।यसैगरी गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा रहेका छन्।
नयाँ मर्यादाक्रमअनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छन्। प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हालेका छन्।
त्यस्तै, खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार मन्त्रालय र गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।यसैगरी दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र रामजी यादवले युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
