ओमिक्रोन भेरियन्टका कारण पछिल्लो समय विश्वभर कोरोनाभाइरसको त्रास बढेको छ। विभिन्न रुपमा तिव्र गतिमा संक्रमण दर बढीरहँदा नेपालमा पनि कोरोनाभाइरस संक्रमितहरुको संख्या बढ्दै गएको छ।
कोरोनाभाइरस संक्रमण दर बढ्न थालेपछी बढी भिडभाड हुने स्थानहरुमा कडाई गर्ने तयारी विभिन्न जिल्लाका प्रशासनहरुले तयारी गरिरहेका छन्। संक्रमणलाई भयावह हुन नदिन सरोकारवाला निकायहरुले विभिन्न तयारी गरिरहँदा केहि संस्थाहरु भने व्यवसायिक लाभको लालचमा ठुलो भिड जम्मा हुने कार्यक्रमको तयारी गरिरहेका छन्।
यहि पुष २९, ३० र माघ १ गते काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल मेडिकल शो २०२२’ आयोजना गर्ने तयारी भइहरहेको छ एचडि प्रोमो मिडिया प्रा.लिको आयोजनामा हुन लागेको यो प्रदर्शनीमा हजारौंको संख्यामा अवलोकनकर्ताहरु भित्र्याउने उद्देश्य आयोजकको छ।
यसरी बाक्लो भिड जम्मा गर्दा संक्रमण दर फैलन सक्ने भन्दै विभिन्न सरोकारवालाहरुले प्रदर्शनी रोक्न प्रशासन र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइरहेको भए पनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन्।
ठमेलको रात्रिकालिन क्लव एलओडी पनि इन्डियन आइडल पवनदिप राजनलाई नेपाल ल्याउने तयारी गरिरहेको छ। एलओडीले राेटरी क्लव अफ पाटनवेस्टसँगको सहकार्यमा पवनदिपलाई नेपाल ल्याउन लागेको हो। यो कार्यक्रम पनि माघ १ गते हुने तय भएको छ।
सरकारले तोकेको सुरक्षा मापदण्ड लत्याउदै रात्रिकालिन व्यवसाय सञ्चालन गरेको भन्दै विवादमा आइरहने एलओडिले कोभिड संक्रमण बढ्ने क्रममा रहेको बेलामा यस्तो कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको भन्दै व्यापक आलोचना शुरु भएको छ।
यता स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भने यस्ता कार्यक्रमहरुले पार्न सक्ने असरलाई नजरअन्दाज गरिरहेको देखिन्छन्।
