कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए ।
कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।
यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भएका थिए ।
भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए ।
कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ ।
वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटाँै महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति भएका थिए भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति भएका थिए ।
विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।
यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति भएका थिए ।
कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए ।
वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।