नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताए।स्व सिंहले प्रजातन्त्र स्थापनासँगै प्रधानमन्त्री बन्न गरिएको अनुरोध अस्वीकार गरेर जनताबाट चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु महत्वपूर्ण उपलब्धि रहेको र पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।